1100×100 Nabil Advert

लोघेकर दामोदरकुण्डका किसानलाई अनुदानमा हातेट्याक्टर वितरण

मुस्ताङ । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर टिलर) वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअनुसार माग सिफारिसका आधारमा पाँचैवटा वडाका किसानलाई सोमबार पहिलो चरणमा अनुदान सहुलियतको हातेट्याक्टर वितरण गरेको हो ।

 

हातेट्याक्टर अनुदान दिन २५ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दीपक खड्काले जानकारी दिनुभयो । प्रमुख खड्काका अनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहनेगरी प्रति हाते ट्याक्टर ५६ हजार ५०० बराबरको एक सय थान हातेट्याक्टर वितरण गरिने छ ।

 

सोमबार पहिलो चरणमा वडा नं १ को चराङ र मराङमा ३५ थान र वडा नं ४ को ढी र सुर्खाङ गाउँका १० थान हातेट्याक्टर वितरण गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । गाउँपालिकाले दोस्रो चरणमा यहाँको वडा नं २, ३ र ५ का किसानलाई बाँकी ५५ थान ट्याक्टर वितरण गर्ने वडा नं १ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिनुभयो । परम्परागत रूपमा गोरु, झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहे पनि पछिल्लो समय जनशक्तिको अभाव, युवा पलायन, परम्परागत शैलीबाट खेत जोत्न झन्झटिलो, लागत र समय बढी लाग्ने भएकाले कृषकलाई यान्त्रिकीकरण तर्फ आकर्षित गरिएको जनाइएको छ ।

प्रकाशित समय १३:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु