1100×100 Nabil Advert

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्र गरिएको थियो । तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका अधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो ।

 

काठमाडौँमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो । गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्र थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्र सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रका लागि ग्राभेल भइसकेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्याङ्कन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

 

बागलुङ नगरपालिका-४ स्थित ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका-७ को मूलपानीबाट तितौरेसम्मको आठ दशमल छ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदा साथ कालोपत्र गरिने निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

प्रकाशित समय ०७:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु