एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी रु.४६ करोड ३३ लाख २५ हजार रहनेछ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गर्नु भएकोमा उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद दिनुभएको छ । माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार समेत उहाँले व्यक्त गर्नु भएको छ । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंक लि. को अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रकाशित समय २१:५१ बजे




















