1100×100 Nabil Advert

सेवाग्राहीको काम नगरिदिएपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

काठमाडौं । सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो ।

 

शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित ३१ जना कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा उक्त निर्णय गरिएको हो ।

 

उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणालीमार्फत गरिएको कम्पनी प्रशासनसम्बन्धी सेवाका सम्बन्धमा प्राप्त गुनासोलाई मध्यनजर गरेर कार्यालयको स्थलगत अनुमगन गरिएको थियो । सो कार्यालयको सेवालाई सरल, चुस्त, पारदर्शी र थप प्रभावकारी बनाउने लक्ष्यका मन्त्रिस्तरीय निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले सो कार्यालयको स्थलगत निरीक्षण गरेको थियो ।

 

कार्यदल एवं छानबिन समितिबाट नियमित अनुगमन गर्ने तथा कम्पनी ऐन तथा प्रचलित कानुनबमोजिम प्रणालीगत सुधार र प्रक्रियागत सरलीकरण गरी अनलाइन सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउनसमेत कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रकाशित समय ०६:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु