1100×100 Nabil Advert

खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न

गोरखा । जिल्लाको पालुङ्टार नगरपालिका-९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो ।

 

फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उहाँले जानकारी दिनुभयो ।

 

‘वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन’, उहाँले भन्नुभयो, ‘कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उहाँको भनाइ छ ।

 

‘राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्’, कार्यालय प्रमुख सुवेदी भन्नुहुन्छ, ‘तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।’ पच्चीस मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ ।

प्रकाशित समय ०९:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु