1100×100 Nabil Advert

स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिन्छ : सिइओ ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने बताएका छन् । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलेब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्टस्’ कार्यक्रमका अवसरमा सो कुरा बताएका हुन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत कार्यक्रममा ढुंगानाले यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार दुई सयलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे ।

 

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरुमा जागिर खाने होइन जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने । नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरु क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।

 

त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीले छिमेकी मुलुक चीनले सन् १९८० को दशकदेखि नै यसप्रकारका कार्यक्रम सञ्चालन गरिरहेको उदाहरण पेस गर्दै नेपालमा पनि शैक्षिक संस्था र उद्योगीबीच सहकार्यको आवश्यकता औँल्याए । नबिल बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यको प्रशंसा गर्दै प्रा डा केसीले नबिल एसएसईले रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे । उनले भारतमा सफलतापूर्वक कार्यान्वयन गरिएको उक्त कार्यक्रमको अनुसरण गरी नेपालमा सुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरिरहेको बताए ।

 

त्यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । साथै प्रशिक्षकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा फेलोहरुले आफूले उत्पादन गरेका विभिन्न सामानहरुको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टलहरु राखिएका थिए । नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार र वित्तीय पहुँच स्थापनामा ठूलो सहयोग गरिरहेको सरोकारवालाहरुले जानकारी दिए । साथै फेलोसिप कार्यक्रमका सहभागीहरुले नबिल बैंकले उद्यमी बन्न आवश्यक ज्ञान, सिप तथा मार्गदर्शन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कायक्रममा भाग लिएसँगै व्यवसाय बिस्तारमा सहयोग भएको उनीहरुले बताए ।

 

नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

प्रकाशित समय २१:२९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु