सामाजिक सञ्जालमा देखिने भ्रामक कुरामा ध्यान नदिन वित्तीय क्षेत्रसँग सम्बद्ध संघहरुको आग्रह
Reporter
माघ २५, २०८१
काठमाडौं । नेपालमा पछिल्लो समय भइरहेका वित्तीय क्षेत्रमाथिका आक्रमण, सामाजिक सञ्जालहरुमा आइरहने भ्रमपूर्ण कुराहरुप्रति वित्तीय क्षेत्रसँग सम्बद्ध चारवटा संघहरुले आपत्ति जनाउँदै त्यस्तो कुराका पछि नलाग्न आग्रह गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएन नेपाल, नेपाल लघुवित्त बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताएका हुन् ।
ती संघहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति-नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिकरुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शीमात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको सर्वविदितै छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।
सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना-समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं । साथै, आम-सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।
विज्ञप्तिमा अगाडि भनिएको छ- ‘बैंकिङ्ग क्षेत्र प्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्गहरु तथा आम जनमानसमा सही सूचना-तथ्य पुर्याउन सहयोग गर्नुहुने संचार माध्यमहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा-सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।’