1100×100 Nabil Advert

भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु झन्झटरहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

काठमाडौं । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभुती गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने बताए ।

 

भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीहरुले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरुको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।

 

सो अवसरमा बोल्दै अर्थसचिव डा.रामप्रसाद घिमिरेले सरकारले निजि क्षेत्रको लगानीमा सहजिकरण गर्ने गरि नै नीतिगत सुधार गर्दै आइरहेको धारणा राख्नु भयो । उहाँले भन्सारको प्रमुख उद्देश्य राजश्व संकलन नभई व्यापार सहजिकरण र निर्यात प्रवद्र्धन नै भएको बताउनु भयो । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी व्यसायीहरुलाई कसरी सहजिकरण गर्न सकिन्छ भनेर लागेका छौं । सरकारले नीतिगत सुधार पनि गर्दै आइरहेको छ । पछिल्ला नीतिगत सुधार पनि त्यसैको लागि आएका हुन्’ उहाँले भन्नुभयो ।

 

यस्तै उहाँले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकोले भारतसँगको व्यापारमा पनि समस्याहरु आउने गरेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा हुन लागेको नेपाल भारत ‘कस्टम म्युचुअल एग्रिमेन्ट’ले ती समस्याहरु समाधान हुने धारणा राख्नुभयो । अर्थसचिव डा. घिमिरेले अहिले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ व्यवसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेको बताउनुभयो । ‘नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति श्रृंखलालाई पनि व्यवस्थित गरी लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु हुँदैन’ उहाँले भन्नुभयो ।

 

अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्शन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसद्मा टेवल हुन लागेको विषय सह्राहनायोग्य रहेको बताउनुभयो । यस्तै उहाँले प्रविधिसँगै भौतिक पूर्वाधारहरूको पनि व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान रहने भएकोले निर्माणाधीन आइसिपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला र महत्वपूर्ण भन्सार कार्यालयहरुमा थप पूर्वाधारहरुको विस्तारमा समयमै ध्यान दिनुपर्ने बताउनु भयो ।

 

भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्नेगरी नै भन्सार प्रशासनले काम गरिरहेको बताउनु भयो । उहाँले भन्सार प्रसाशन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्नेगरी नै अगाडि बढिरहको बताउँदै आर्थिक अनुुशासनको पक्षमा सबै इमान्दार हुनुपर्ने धारणा राख्नुभयो ।

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार क्षेत्रमा व्यवसायीले भोग्नुपरेका समस्या र सहजीकरणका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने व्यवसायीहरूले भन्सार सुधारका विषयमा सुझावहरु दिनुभएको थियो । अन्तर्राष्ट्रिय भन्सार संगठनले २०२५ लाई ‘दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल उद्देश्यका साथ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदैछ । यो दिवस हरेक वर्ष जनवरी २६ मा मनाउने गरिन्छ ।

प्रकाशित समय १९:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु