हिमालयन बैंकको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन बैंकको बतीसौं वार्षिक साधारणसभा सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष् प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याईसकेको जानकारी गराउनु भयो । तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराउनु भयो । यसका साथै बंैकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराउनु भयो ।
यस पश्चात् बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा रु.एक अर्ब तेइस करोड त्रियासी लाख तीन हजार रहेको र अन्य आय गणना गर्दा बैंकको खुद आम्दानी रु.एक अर्ब दुई करोड उनान्चालिस लाख एक हजार रहेको जस मध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने रु.चौबीस करोड छयत्तर लाख साठी हजार छुट्याइएको जानकारी दिनुभयो ।
यसै गरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई रु.दुई खर्ब सन्तानब्बे अर्ब बहत्तर करोड त्रिपन्न लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु.दुई खर्ब सत्चालिस अर्ब दश करोड ९० लाख रहेको जानकारी गराउनु भयो । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु.तीन खर्ब पचपन्न अर्ब त्रिहत्तर करोड ५८ लाख र रु.३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराउनु भयो । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले रु.२ अर्ब ८८ करोड ५४ लाख मात्र संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा रु.१ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जानकारी दिनुभयो ।
यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु.१ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट रु.१ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाउनुभयो । बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सो लाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिनुभयो ।
प्रकाशित समय १७:५३ बजे




















