२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहनेछ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले २८ हजार ५०० मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् । शुक्रबार लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन् ।
उनले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा ४० खर्ब रुपैयाँ खर्च भई नेपालकै अर्थतन्त्र माथि उठ्ने बताएका हुन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४०० मेगावाट भारत निर्यात सम्झौताबाट शुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृंखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता हुँदै अहिले बंगलादेशमा ४० मेगावाट निर्यात शुरु र हालसालै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कासहित सिंगो मन्त्रिपरिषद् सकारात्मक भएको बेला ऊर्जा क्षेत्रको विकास नभए नेपालमा कहिल्यै पनि यो क्षेत्रको विकास नहुने कार्कीले ठोकुवा गरे । २८ हजार ५०० मेगावाटको मार्गचित्र पास भएको छ, यसले फरक सन्देश दिएको छ । तर, विद्युत विधेयक यो लक्ष्यको विपरीत भएकोले त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने पनि उनले बताए ।

‘२८ हजार ५०० मेगावाटका लागि ६६ खर्ब पैसा चाहिन्छ । सरकारले सहज नीति बनाइदिने हो भने लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार छ । शक्तिशाली उर्जा मन्त्रालय बनाएर वन तथा वातावरणका मुद्दा पनि त्यहींबाट सल्टाउने गरि सरकार अघि बढ्नुपर्छ’ कार्कीले भने । ‘विद्युत विधेयक संशोधन नगरी पास नगरौं, होइन भने निजी क्षेत्रले ऊर्जामा स्पेस नै पाउँदैन ।’ १८ महिनादेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा अड्किएको भन्दै कार्कीले ‘बैकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्काशन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने’ बताए । ऊर्जामन्त्रीले यसमा निर्देशन दिनेबेला भएको पनि उनले बताए ।
नेपालमा भएका ४-५ वटा राम्रा जलविद्युत आयोजनामध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न पनि उनले कम्पनीलाई शुभकामना दिए । पछिल्लो छोटो अवधिमै २० वटा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको भन्दै कार्कीले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि धन्यवाद दिए । पूर्व ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले १५०० मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्दा दाना खोला त्यहिभित्र समेटिएको आयोजना हो ।
प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताए । आयोजनाका लागि ९ अर्ब ९६ करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ । ७४ करोड रुपैयाँ स्थानीयमा शेयर जारी गरेर, १ अर्ब ७४ करोड रुपैयाँ सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुनेछ । आयोजना मनाङको नाशोँ गाउँपालिकामा विकास हुनेछ ।
प्रकाशित समय १९:४५ बजे





















