दीगो विकासको लक्ष्य प्राप्त गर्न स्वयंसेवकहरूको योगदान महत्वपूर्ण
सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । स्वयमसेवा अर्थात् आफैंले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ । त्यसैगरी स्वयमसेवा मानवताको पर्याय पनि हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भूमिका छ किनभने सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । विश्वभर स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकहरुले आफ्नो सेवा दिंदै आएका छन् ।
आज बिहीबार विश्वभर स्वंयमसेवक दिवस मनाइरहँदा पछिल्लो समय नेपालमा स्वयंसेवाको भाव मानिसहरुमा हट्दै गएको पाइन्छ । प्रविधिको बढ्दो प्रयोग र विदेश पलायनले युवा पुस्तामाझ स्वयंसेवाप्रति रुची घट्दै गएको हो । अर्को भनेको केवल नाम कमाउनमात्रै यस क्षेत्रमा लाग्नेहरुको कारणले पनि स्वयंसेवकलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण पक्कै पनि राम्रो छैन । हामीले हाम्रै देशको पृष्ठभूमिलाई नै हेर्ने हो भने पनि समुदायमा स्वयंसेवकहरु मानवीय र सामाजिक कार्यमा समुदायमा स्वच्छभावले काम गर्नु र समुुदायमा परेका समस्याहरुलाई हल गर्नू तथा कसैलाई समस्या परेको समयमा सहयोग गर्नुलाई स्वयंसेवा मानिन्थ्यो । पहिले–पहिले हाम्रो गाउँघरतिर युवाहरुको टोलीले गाउँमा बाल क्लव, युवा क्लव, गुठी, उपभोक्ता समितिजस्ता विभिन्न नाममा समाजका लागि निःशुल्क काम गर्ने प्रचलन थियो । गाउँ-शहरमा परेका समस्याहरुलाई एकजुट भई समाधान गर्दथे । गाउँ टोलको बाटो-घाटो सफा गर्नेदेखि लिएर कुवा, पँधेरो र पानीको मुहान सफा गर्ने, बनमासा झार फँडानी लगायत समुदायमा केही समस्या पर्दा स्वयंसेवी भावले काम गर्ने गर्दथे ।
तर पछिल्लो समय मानिसहरु बढी व्यक्तिवादी बन्दै गएका छन् । जसको कारण स्वयंसेवाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । पछिल्लो समय गाउँ-घरतिर त कसैको मृत्यु भएमा अथवा महिलाले सुत्केरी व्यथा लागेको बेलामा काँधमा वा थुम्सेमै बोक्ने मानिस पनि खोज्नुपर्ने अवस्था छ । कतिले त बोक्ने मान्छे नपाएको कारण अकालमा ज्यानै गुमाउनु पनि परेको छ । गाउँका गाउँ खाली भएको कारण र आफन्त पलायनको कारण जनशक्ति अभावले गर्दा अब हुँदा–हुँदा मलामीको निम्ति पनि स्वयंसेवक नै खोज्नुपर्ने अवस्था देखिएको छ । जसको हाम्रो गाउँ घरमा ठूलै खडेरी परेको पाइन्छ । स्वयंसेवक समाजको महत्वपूर्ण अंग र ठूलो आवश्यकता हो भन्ने कुरालाई हामीले कति पनि बिर्सिनु हुँदैन ।

यद्यपि अहिले पनि हामीले औपचारिक होस् या अनौपचारिकरुपमा समुुदायलाई स्वयंसेवकको रुपमा काम गरिरहेका हुन्छौं । नेपालमा कुुल जनसंख्याको ४३ प्रतिशत जनसंख्या युवाहरुको रहेको छ । युवाहरुको संख्या यति धेरै भए पनि उनीहरुमा स्वयंसेवाको भावना कम हुँदै गएको छ । स्वयंसेवाप्रति युवाहरुको आकर्षण बढाउनका लागि सरकारले ठोस नीति ल्याएर काम गर्नुपर्ने युवाको भनाई छ । नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील रहेका स्वयंसेवकको भूमिकालाई नकार्न सकिन्न । चाहे त्यो विभिन्न समयमा आइपर्ने दैवीप्रकोप होस् अथवा विभिन्न प्रकारका दूर्घटना होस्, सबैमा जहाँ पुरुषहरुको भूमिका पाइन्छ त्यहीं महिलाहरुको भूमिका पनि प्रसंशनीय रहेको छ । महिलाहरु विशेषगरी स्वास्थ्य र सामाजिक क्षेत्रमा निस्वार्थ भावनाले लागेको पाइन्छ । यस वर्ष पनि बाढी-पहिरो आउँदा, विगतका दिनमा भुँइचालोको समयमा, शीतलहरको बेलामा होस् या अन्य कुनै पनि बिपतको बेलामा अप्ठेरो समय र परिवेशमा घरदैलोमा आइपुगेका निस्वार्थ स्वयंसेवी महिला तथा पुरुष बास्तवमै हाम्रा दुःख-सुखका साथी हुन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्डकै रुपमा लागेको कुरा दुर्गम क्षेत्रमा उनीहरुको सेवाबाट छर्लङ्ग हुन्छ । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा शुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै महिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दूर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीनरूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको शहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौं स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सराहनीय छ ।
खासगरी महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका-ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । पोलियोविरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने अभियानमा पनि निक्कै अग्रसर रहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारीरूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ । स्वयंसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टि छ र सधैं स्वयंसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहीं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग र सहकार्य गरौं । एक दिन सँगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं र आफू पनि हाँसौं । मानवीय सेवामा आफूलाई सधैं अगाडि राख्न सक्नु ठूलै भाग्य हो भन्ने हामीले बुझ्नु पर्दछ । ‘दीगो विकासको लक्ष्य प्राप्त गर्न स्वयंसेवकहरूको योगदान’ भन्ने यस वर्ष २०२४ को नारालाई व्यवहारमा सार्थक बनाऔं भन्ने नारालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२४ को उपलक्ष्यमा सम्पूर्ण स्वयंसेवक तथा मानवीय एवं सामाजिक कार्यमा कार्यरत मित्रहरूमा हार्दिक शुभकामना छ । सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनीय छ ।
प्रकाशित समय १५:५५ बजे



















