गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’बाट सम्मानित
काठमाडौं । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’बाट सम्मानित भएको छ । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो । सो कार्यक्रममा उपाध्यायले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इण्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहनु भई वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशकसमेत वक्ताको रुपमा सहभागी रहनु भएको थियो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १६:३१ बजे




















