आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ
काठमाडौं । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मकरुपमा लिएको जनाएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीनरुपमा अर्थतन्त्र चलायमान बनाई दीगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । ‘महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
यसलाई अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापनसमेत गरेको छ । महासंघले मितव्ययीरुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।
प्रकाशित समय १९:११ बजे





















