1100×100 Nabil Advert

नेपाल टेलिकमको ७७ वटै जिल्लामा एफटीटीएच सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत् एनटी फाइबर सेवा उपलब्ध गराएको छ । आज एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअलरुपमा सो सेवाको शुभारम्भ गर्नुभयो । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पुर्‍याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा उहाँले गर्नुभयो । यो महत्वपूर्ण उपलब्धिका लागि मन्त्री गुरुङले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गर्नुभयो ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउनु हुने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद प्रदान गर्नुभयो । आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि उहाँले सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताउनुभयो । कर्णालीका विकट जिल्लाहरुमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको बताउनुभयो । आगामी दिनमा सडक र विद्युतको पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने उहाँले बताउनु भयो । सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद साह र दूरसञ्चार कार्यालय सुर्खेतका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरुका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको समेत सहभागिता रहेको थियो । हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत साविकमा उपलब्ध हुँदै आएको एडीएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुनेछ । आगामी दिनमा बढी क्षमताको इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुनेछ । यससँगै देशका ७७ वटै जिल्लामा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध भएको छ । देशको दूरसञ्चार विकासमा यो एक महत्वपूर्ण कदम हो ।

प्रकाशित समय १७:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु