वाणिज्य बैंकहरूको मुनाफा कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कति आम्दानी गरे भन्ने वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये दश बैंकले नाफा बृद्धि गरेका छन् भने दश वटाको घटेको छ ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मुनाफा आर्जन गर्नेमा नबिल बैंक परेको छ । नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले ६ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभु बैंकले ४ अर्ब ४८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड, सिद्धार्थ बैंकले ३ अर्ब १ करोड, हिमालयन बैंक लिमिटेडले २ अर्ब ८३ करोड, सानिमा बैंकले २ अर्ब ३८ करोड, एनएमबि बैंकले २ अर्ब ३३ करोड, कुमारी बैंकले २ अर्ब ३० करोड, नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड, नेपाल बैंकले १ अर्ब ६५ करोड, एनआइसी एसिया बैंकले १ अर्ब ३८ करोड, सिटिजन्स बैंकले १ अर्ब ३४ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड मुनाफा आर्जन गरेका छन् ।
समग्रमा आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा ६४ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सो भन्दा अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए । तुलनात्मक हिसाबले हेर्ने हो भने गत आर्थिक वर्ष सोभन्दा अघिल्लो आर्थिक वर्षको भन्दा १३.४० प्रतिशतले मुनाफामा बृद्धि भएको छ ।
प्रकाशित समय १३:३४ बजे




















