उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने छ : प्रधानमन्त्री ओली
काठमाडौं । निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँगका प्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना विकास सम्भव नभएको बताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताउनुभएको हो ।
महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताउनुभयो । निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।
भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताउनु भएको हो ।
सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो । निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्ने लगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने अध्यक्ष ढकालको भनाइ थियो । उद्यम व्यवसाय सम्वद्ध नियामकीय निकायहरुले एकआपसमा समन्वय बढाई लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।
अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले वाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताउनुभयो । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिनुभयो । साथै आर्थिक वर्षको शुरुमा नै नयाँ सरकार बनेको हुँदा पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताउनुभयो ।
यसैगरी अध्यक्ष ढकालले अहिले अर्थतन्त्र सम्वद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेको बताउनुहुँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताउनुभयो ।
निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धि विवाद तत्काल समाधान गरि उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले वताउनुभयो । यसैगरी अध्यक्ष ढकालले सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना शहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तीय पहुँचका लागि विशेष पहल आवश्यक रहने बताउनुभयो । उक्त भेटमा सहभागि महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताउनुभयो ।
प्रकाशित समय ०९:२४ बजे




















