1100×100 Nabil Advert

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको जानकारी बताउनुभयो ।

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिनुभयो । त्यसअघि उहाँले बङ्गलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानन्यायाधीश श्रेष्ठको सम्मानमा उहाँले रात्रिभोजको आयोजना गर्नुभएको थियो । त्यस अवसरमा बङ्गलादेशका कानुनमन्त्री अनिसुल हक तथा सर्वोच्च अदालतका न्यायाधीशहरुको सहभागिता थियो ।

प्रधानन्यायाधीश श्रेष्ठ सहभागी हुनुभएका औपचारिक कार्यक्रमहरूमा उहाँकी धर्मपत्नी रोशनी श्रेष्ठ, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी पनि हुनुहुन्थ्यो । प्रधानन्यायाधीश श्रेष्ठ आफ्ना बङ्गलादेशी समकक्षी ओबाइदुल हसनको निमन्त्रणामा यही जेठ २४ देखि २७ गतेसम्म बङ्गलादेशको भ्रमणमा हुनुहुन्छ ।

प्रकाशित समय ०८:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु