1100×100 Nabil Advert

बालबालिकालाई चस्मामा लाग्ने शुल्कमा छुट

रसुवा । तिलगङ्गा सामुदायिक आँखा केन्द्र धुञ्चेले दृष्टि कमजोर भएका स्कुले छात्रछात्राले लगाउने चस्मामा लागत मूल्यमा सहुलियत छुट दिन थालेको छ ।

विद्यालयले गरेको सिफारिस वा निजका साथमा रहेको परिचयपत्रका आधारमा विद्यार्थीले रोजेका चस्माको मूल्यमा सहयोगस्वरुप केन्द्रले प्रतिविद्यार्थी रु एक हजारका दरले छुट दिन थालेको हो । दृष्टि कमजोर भएका विद्यार्थीलाई चस्मामा छुट दिन थालेपछि हिमाली ग्रामीण क्षेत्रका विपन्न छात्रछात्रालाई ठूलो राहत भएको विद्यालयका शिक्षकहरु बताउँछन् । उक्त सुविधा जिल्लामा नै पहिलो पटक दिइएको केन्द्रले जनाएको छ ।

सम्बन्धित विद्यालयको सिफारिसका आधारमा ७० जना छात्रछात्रालाई आँखाको शक्ति परीक्षण गरी रु एक हजार छुट सहुलियतमा चस्मा प्रदान गरिएको केन्द्रकी प्रमुख उर्मिला तामाङले जानकारी दिनुभयो । विद्यार्थीको आँखामा केही समस्या देखिएमा तुरून्तै धुञ्चेस्थित तिलगङ्गा आँखा केन्द्रमा परीक्षणका लागि पठाएर सहयोग गरिदिन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

वार्षिक कार्यप्रगति सार्वजनिक गर्ने क्रममा केन्द्रका अधिकृत रामसिंह तामाङले केन्द्र सन् २००६ देखि जिल्लामा आँखाको उपचारमा संलग्न रहेको जानकारी दिनुभएको थियो । उहाँले शरीरका महत्वपुर्ण अङ्गमध्येमा पर्ने आँखालाई सुरक्षित राख्ने एक मात्र उपाय नियमित परीक्षण गर्ने र चस्मा लगाउने रहेको बताउनुभयो ।

रेडक्रस सभापति एवं रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा सहभागी नेपाली कांग्रेसका लछिन तितुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की रितुपेमा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का केन्द्रीय सदस्य साङतेम्वा तामाङलगायत वक्ताले जिल्लास्थित रेडक्रस र केन्द्रले सञ्चालन गरेको आँखाको उपचार सेवा हिमाली जिल्ला रसुवाका लागि प्रभावकारी बन्दै गएको बताउनुभएको थियो । विभिन्न समयमा गाउँगाउँमा गरिएका निःशुल्क आँखा शिविर थप लोकप्रिय र प्रभावकारी बनेको सहभागीको भनाइ थियो ।

आँखालाई सुरक्षित राख्न प्रत्येक नागरिकले छ-छ महिनामा अनिवार्य परीक्षण गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । धुञ्चेमा परीक्षण तथा प्राथमिक उपचारपश्चात् शल्यक्रिया गर्नुपरेमा काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालमा वा अन्य सुविधायुक्त स्थानमा पठाउने गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित समय १३:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु