तेश्रो लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई लगानीका अवसर प्रदान गर्छ : सिइओ भट्ट
काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले तेश्रो लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई लगानीका अवसर प्रदान गर्ने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा ‘नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति’ विषयक कार्यशाला गोष्ठी आयोजनामा सो कुरा बताउनुभएको हो । सो कार्यक्रम २०८१ वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने तेश्रो लगानी सम्मेलनको तयारी स्वरूप आयोजना गरिएको हो ।
कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानूनी, प्रक्रियागत तथा नियामकीय सुधार एवं विदेशी लगानीसमेत निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलहरूका विषयमा विमर्श हुनुका साथै सफलतापूर्वक सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।

उक्त कार्यशालालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्नुहुँदै थप लगानी आवश्यक रहेको बताउनुभयो ।
अहिले हरित अर्थतन्त्र–लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल उत्तम लगानीको गन्तव्य भएको मन्त्री महतले बताउनुभयो । ‘नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभई स्वच्छ उर्जाको माध्यमबाट क्षेत्रीयरूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भन्नुहुँदै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतको भनाइ थियो ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दीगो हुने धारणा राख्नुभयो ।
उक्त अवसरमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताउनुभयो । उहाँले लगानी सम्मेलनको तयारीका सम्बन्धमा पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले तेश्रो लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई लगानीका अवसर प्रदान गर्ने उल्लेख गर्दै सरकारले गम्भीरतापूर्वक यस राष्ट्रिय सम्मेलन अघि लगानीसम्बन्धी कानूनहरूमा पुनरावलोकन गरी कनेक्टीभिटीका रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसीटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी गराउनुभयो ।
त्यस्तै नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने लगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे चर्चा गर्नुभयो ।
केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले आगामी लगानी सम्मेलनले नेपालमा लगानीका अवसरबारे विहंगम जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
लगानी सम्मेलनअघि यस्ता पूर्व तयारीस्वरूप प्रवर्धनात्मक कार्यक्रमहरू, परियोजना बजारीकरण, रोड शो तथा नीतिगत बहसका विविध कार्यक्रमहरू तय गरिएका छन् । सम्मेलनपश्चात पनि लगानीकर्तासँग निरन्तर छलफल परामर्श गरी लगानी भित्र्याउन आवश्यक सबै क्रियाकलाप लगानी सम्मेलन सचिवालयका रूपमा लगानी बोर्डले निरन्तर अघि बढाउने छ ।
प्रकाशित समय २०:१४ बजे




















