1100×100 Nabil Advert

विदेशी लगानीकर्तालाई अर्थमन्त्रीले दिए लगानी सम्मेलनको निम्तो

गुजरात । अर्थमन्त्री डा.प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट-२०२४ मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिनुभएको हो ।

सम्बोधनका क्रममा मन्त्री डा.महतले भन्नुभयो– ‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’

उहाँले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवाजस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराउनु भयो ।

‘दीगो र समावेशी बृद्धिलाई प्रवर्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदान–प्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ ।’ मोदी जीले २००३ मा परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘राष्ट्रव्यापीरूपमा अनुशरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको छ ।’

‘सन् २०१४ मा नेपालको संसदमा मोदीजी भन्नुभएको कुराको ताजा सम्झना छ, मन्त्री डा.महतले भन्नुभयो, ‘विशेष गरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिशन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।’

उहाँले ‘हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्नेछ । यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्नेछ । मन्त्री डा.महतले भन्नुभयो, ‘दुई विश्व आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित नेपालले ९० को दशकको शुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तर्राष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीहरूको सदस्य छ । र, हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेका छौं ।’

प्रकाशित समय २०:३१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु