1100×100 Nabil Advert

अलैंचीको भाउ तेब्बर बढ्दा कृषक दंग

इलाम । अलैंचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैंची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैंचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैंची रोपिन्छ’, सूर्योदय नगरपालिका-१ की इन्दिरा अधिकारीले भन्नुभयो, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।’

गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैंचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो । ‘गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैंची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ’, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैंची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उहाँले बताउनुभयो । रोगले मासिंदै गएको अलैंचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पु¥याउने प्रयास गरिरहेका छन् ।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैंची लगाउनुभएको छ । ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ–दश लाख बचत हराएको छैन’, उहाँले भन्नुभयो । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैंचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैंची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैंचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताउनुभयो ।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैंची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्यांक छ ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैंची उत्पादन भएको थियो । ‘गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैंचीखेती गरिएको थियो ।’ उहाँले भन्नुभयो, ‘अलैंचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’ गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उहाँले बताउनुभयो ।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैंची थियो । अलैंचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा-जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैंचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । विस्तारै अलैंची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो ।

रोगले हराउँदै गएको अलैंचीलाई किसानले अलैंचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पु¥याउने प्रयास थालेका छन् । ‘पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैंची सुधार भएको छ’, किसान शेरेङले भन्नुभयो, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैंचीको उत्पादनमा धेरै फरक पाइयो ।’ उहाँले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताउनुभएको छ । अलैंची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्‍याएको उहाँले बताउनुभयो । ‘मेरोमा उत्पादन भएको अलैंची बाग्लुङ, पोखरा, स्याङ्जातिर पनि निर्यात भएको छ’, उहाँले भन्नुभयो, ‘मैलै सधैं विरुवा उत्पादन गरेर अलैंची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आगामी वर्ष बृहत् गर्नुछ ।’

प्रत्येक एक–एक महिनामा अलैंची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैंची सप्रिएको किसानको अनुभव छ । अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिंचाई, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैंची सुध्रिएको हो । किसानले अलैंचीका लागि संघ-संस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।

अलैंचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैंची सुध्रिएको बताउँछन् । घरेलु औषधि र मलको प्रयोग अलैंचीलाई महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । दशकअघिको खेती प्रविधि सम्झँदै उहाँले भन्नुभयो, ‘त्योबेला अलैंची त दुःख नगरी फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौं ।’ सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उहाँले बताउनुभयो । किसानले अलैंची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैंचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ । अलैंचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।

प्रकाशित समय ०९:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु