पाँच वटा स्टार्टअप कम्पनीमा लगानी गर्न लगानीकर्ता इच्छुक
काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ भव्यताका साथ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो ।
त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो । त्यसमध्ये गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् । यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।
सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ । स्टार्टअप अफ द इयरको अवार्ड – हाम्रो पात्रो हेल्थले प्राप्त ग¥यो । यसैगरी बेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रा.लि., कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रीन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स्, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे । यसैगरी नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गरे । यस्तै एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ ।
अवार्डबाट सम्मानित स्टार्टअपहरुलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ । सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अवार्ड प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले हाल नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यासायिक सोच युक्त उद्यमशील संस्कारको विकास भइरहेको बताउनुभयो । स्टार्टअपमा आधारित व्यवसाय थालनी गर्ने र सञ्चालनमा रहेका स्टार्टअपलाई स्तरोन्नति गर्न चाहने उद्यमीलाई आवश्यक ज्ञान, सीप, प्रविधि र अनुभव हस्तान्तरण गर्न, वित्तीय पहुँच र सहयोग बढाई स्टार्टअप अनुकूल इकोसिस्टम विकास गर्नु जरुरी भएको उहाँले बताउनुभयो । नवीनतम उद्यम तथा स्टार्टअपलाई प्रवद्र्धन गर्न सरकारका तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा कार्यगत सहयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा गरेको बताउनुहुँदै उहाँले स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिको मस्यौदा समेत तयार भई स्विकृतिको चरणमा रहेको बताउनुभयो । कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरुलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत व्याजमा उपलब्ध गराउने गरी कानूनी व्यवस्था मिलाईने मन्त्री रिजालले बताउनुभयो । 
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उत्प्रेरणा प्रदान गर्दै नेपालमा स्टार्टअप, व्यवसायिक वातावरणका विषयमा बोल्नु भएको थियो । त्यसअघि शनिबार विहान सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुले आफ्नो सपना नेपालमै पूरा गर्न सक्ने गरी धेरै अवसर रहेको बताउनुभयो । उहाँले आफ्ना सपना विदेशमा गएर मात्रै पूरा गर्न सकिन्छ भन्ने मानसिकता हटाउन आग्रह गर्दै मुलुकभित्रै रहेको अवसरलाई चिन्न आग्रह गर्नुभयो ।
नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले युवा उद्यमीहरुलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न स्टार्टअप फेष्टको आयोजना गरेको बताउनुभयो । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने, स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको उहाँले बताउनुभयो ।
फेष्ट उद्घाटन कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका कन्सुलर प्रसन्ना श्रीभास्तव, नेपालका लागि यूरोपियन यूनियनका चार्जडी अफेयर्स डा. जोयल हाइभोनेट, फेष्ट टाइटल स्पोन्सर नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरी, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अनुराग गोयल, परिसंघ स्र्टाटअप समिति सभापति प्राची अग्रवालले स्टार्टअप फेष्ट, स्टार्टअप तथा उद्यमशीलताबारे प्रस्तुती दिनुभएको थियो ।
स्टार्टअप फेस्टमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालबीच मेक इन नेपाल स्वदेशी अभियानका विषयमा छलफल भएको थियो । यस्तै विभिन्न सत्रमा सांसद सुमना श्रेष्ठ, नेपाल प्राइभेट इक्वीटी एसोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डे, खल्तीका निर्देशक अमित अग्रवाल, उद्योग वाणिज्य महासंघ स्टार्टअप समिति सभापति जुना माथेमा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, आईआईटी मद्रास प्रर्बतक टेक्नोलोजीका महाप्रबन्धक वीरराघवन, उद्यमी डा. प्रतिभा पाण्डे, गरुड सेक्यूरिटिजका शवल शाह, सीएनआईवाइईएफका वरिष्ठ उपाध्यक्ष आशिष अग्रवाल, एईसीसीका अजित नारायण सिंहले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले व्यवसाय सुरुवातदेखि आफ्नो सफलताको कथा सुनाउनुभएको थियो ।
विशेष वक्ताको रुपमा भारतीय उद्यमी विपिन बाबुले फेस्टमा सहभागी युवाहरुलाई उद्यमशील बन्न अभिप्रेरित गर्नुभएको थियो भने नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्टार्टअप इकोसिस्टमका विषयमा बोल्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग स्टार्टअप फेस्टको प्रमुख नीति साँझेदार रहेको थियो । यसैगरी राष्ट्रिय योजना आयोग, नेपालस्थित भारतीय राजदूतावास, यूरोपियन यूनियन, अन्तर्राष्ट्रिय श्रम संगठनको समेत सहकार्य भएको थियो । स्टार्टअप फेस्टमा मेक इन नेपाल स्वदेशी उत्पादनहरुको प्रर्दशनी, ड्रोन रेस, एन्टबोट, रोबो सक्सर, द इलिमेन्टस् व्याण्डको लाइभ म्युजिकल कन्सर्टलगायतका कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा टाइटल स्पोन्सर नबिल बैंक, आरएमसी गु्रप, एइसीसी ग्लोबल नेपाल प्रालि, यामाहा, बोट लाइफस्टाइल, सेरेस इभी, टर्किस एयरलाइन्स, कोकाकोला, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन स्पोन्सर रहेका थिए । यसैगरी एपीईए, आइआइडीई नेपाल, व्यासा, आइआइटीएम प्रवर्तक, फ्युज मेशिन्स, सोल्टी होटेल, हिमालयन टाइम्स मिडिया एण्ड टेक लिमिटेड, पायोनियर ल एसोसिएटस., काजी स्टुडियोज, न्यूज २४ नेपाल, डक्टर्स अन कल, खालिसीसी, आइडिया स्टुडियोज, क्लेवे, खल्ती, ग्यारेज इन्टरटेनमेन्ट, रोवोटिक्स एसोसिएशन अफ नेपाल, माटो, इमाजिङले विभिन्न शीर्षकमा सहकार्य गरेका थिए ।
प्रकाशित समय २०:४१ बजे






















