प्रधानमन्त्री दाहाल भोली न्यूयोर्क प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेण्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंको ७८ औं महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।
प्रकाशित समय १३:१३ बजे





















