ढल्यो भद्रकुमारी घले सदन, पूर्व सूचना नदिएको गुनासो, कवाडीले भने पाए पूर्व सूचना
काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर खुब खटिन्छ । कहिले धोबीखोला भित्र पस्छ त कहिले अवैध संरचना भत्काउने भन्दै आवासीय तथा बिभिन्न संरचना भित्र पस्छ । तर उस्ले यसरी भत्काउँदा पूर्व सूचना दिने नगरेको गुनासो पनि बढ्न थालेको छ ।
बुधबार काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काइयो । सार्वजनिक जग्गामा निर्माण गरिएको भन्दै महानगरको डोजरले भत्कायो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सेवा सदनको भवन भत्काउँदा कानूनी राज्यमा कानूनी व्यवस्था यही हो भन्दै भावनामा बग्ने छुट आफुहरुलाई नभएको बताए ।
उनले भने ‘यो सार्वजनिक जग्गा हो, यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यहि हो । भावनामा बग्ने छुट हामीलाई छैन् । वृद्धहरुको कोही छैन आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं । विद्यालयको कुरामा कक्षा १२ सम्म महानगरले हेर्छ त्यसैले यो अर्को विद्यालयमा सार्ने तयारी गरिसकेको छ । के गर्नु पर्ने हो त्यो गर्छ । यो लालपूर्जा नभएको जग्गा हो । यो समस्या हाम्रो हो उहाँहरुको हो । भद्र कुमारी आमाले दुई घण्टा अगाडि फोन गरेर समर्थन गर्नु भएको छ ।
यता भद्रकुमारी घले सेवा सदनका अध्यक्ष दीपक घलेले भने आफुहरुले देख्ने गरी सूचना टाँस नगरेको गुनासो गरे । सार्वजनिक स्थलमा सूचना टाँस गर्नु पर्ने दायित्वबाट पनि महानगर पन्छेर अमानवीय काम गरेको आरोप पनि घलेले लगाए ।
उनले भने ‘तीन महिनामा मुखपत्रमा उहाँहरुले लेखेर सूचना प्रवाह गरेर सूचित गरेको थियो भन्ने कुरा आयो तर हामीलाई कुनै लिखित सुचना दिएको छैन् । सार्वजनिक व्यक्तिको लोभमा हो भने यहाँसम्म कि जिल्ला अदालतले पनि कुनै व्यक्तिलाई सूचना दिनु पर्छ भनेर घरमा वा सार्वजनिक स्थलमा लगेर टाँस्छ भने नगरपालिकाले टाँस्नु पर्ने दायित्व होइन ? हामीलाई सूचना गर्नु पर्ने होइन ।
मुखपत्रको भरमा हुन्छ । हामीलाई जानकारी नै छैन । तीन दिनको समय दिएर आज यस्तो गरियो । हामीले पुस्ताकालय संग्रहालयहरु पनि खाली गराएका थियौं । यसरी भत्काए हिरो बन्न खोज्नु भएको भने हिरो बन्न दिनुहोस । उहाँलाई चरम सीमाको आवेग भएछ । पानी उम्लेपछि पोखिन शुरु हुन्छ नि त्यस्तै भयो । हामीले उहाँहरुलाई नै दिन्छौं तपाईंहरु नै चलाउनुहोस् भन्दा–भन्दै पनि यो भत्काउनुको कुनै औचित्य छ । लिखितरुपमा नै दिन्छौं भनेका छौं तर भत्काउनै पर्ने के औचित्य त ? म स्वयम गएको छु बालेनलाई भेट्नलाई भेटनै चाहानु भएन नि ।’
सेवा सदनमा रहेकी ८० बर्षीया चन्द्र मातले भने आभारहरुलाई यो उमेरमा सदनबाट नउठाउन हार गुहार गरिन । उनले भनिन् ‘यस्तो अन्याय नगरिदिनु होला । सानै उमेरबाट यहाँ बसेको । ८० वर्ष भयो यहाँ बसेको । अब यहाँबाट अन्त कहिं नजाने । स्थानी श्याम मगरले भद्रकुमारी घलेले पञ्चायतकाल देखि नै जनपक्षीय र समाजसेवी काम गरेकोले सेवा सदन भत्काउनु उचित नभएको बताए ।
उनले भने ‘सेवा सदनमा धेरै आश्रित छन्, भद्रकुमारी घलेले पञ्चायतकालमा पनि धेरै राम्रो काम गर्नुभयो, यो सदन भत्काइहाल्नु उचित भने थिएन ।’ सेवा सदन भत्काइएको विषयलाई लिएर बिभिन्न टिकाटिप्पणी हुन थालेका छन् । पूर्व सूचना नदिएको महानगरले कवाडीहरुलाई भने पूर्व सूचना दिएर सामान उठाउन बोलाएको आरोप पनि सदन आसपासका सर्वसाधारणले लगाएका छन् ।
प्रकाशित समय १६:३८ बजे




















