1100×100 Nabil Advert

सवारी साधन आयातमा सहज निकास निकालिदिन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गर्‍यो भन्सार विभागका महानिर्देशकको ध्यानाकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरेको छ । भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि अध्यक्ष थापा नेतृत्वको टोलीले महानिर्देशक बुढासँग आग्रहसमेत गरेकोे छ । उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनुअघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन-हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद बिक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसैकारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफ्ना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पार्नुभयो ।

 

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप र भ्यानजस्ता सवारी साधनहरुको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताउनु हुँदै कूल सवारी साधनहरुको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताउनुभयो । त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राख्नुभयो ।

 

उक्त छलफलमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक–पटक छलफल भइसकेको जानकारी दिनु हुँदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गर्नुभयो । सो अवसरमा महानिर्देशक बुढाले विभागले छिट्टै मूल्याङ्कन गोष्ठीको आयोजना गर्न लागेकोसमेत जानकारी दिनुभयो । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियालगायत कोषाध्यक्ष मिलन बाबु मल्लको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २२:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु