एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी
काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । एनआइसी एसिया बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहकहरुले एआईसी एसिया बैंकका क्यूआरकोड, कार्ड पिओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
सो समझदारीपश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनेछन् भने भीडरहित र सरल सेवा पनि प्राप्त गर्न सक्नेछन् । आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइनेछ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन आइ सी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरेको छ ।
एनआइसी एसिया बैंकका मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।
प्रकाशित समय २१:५९ बजे




















