1100×100 Nabil Advert

अध्यक्ष ढकालद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह

काठमाडौं । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभएको छ ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको हो । उहाँले नेपालमा उत्पादन गरि यहाँको बजारसँगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो । यसैगरि भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिनुभयो ।

नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गर्नुभयो । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उहाँले लगानीकर्ताहरुलाई देखाउनुभयो ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पार्नुभयोे । महासंघले एफडिआइ हेल्पडेस्क मार्फत् सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताउनुभयो । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उहाँले जानकारी गराउनुभयो । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा हुनुहुन्छ । यसअघि उहाँले अन्तराष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गर्नुभएको छ ।

प्रकाशित समय १५:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु