कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ : संस्कृतिमन्त्री पाण्डे
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ललितकला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताउनुभएको छ । आज मन्त्रालयमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको टोलीसँगको छलफलका क्रममा उहाँले समन्वयात्मक रूपमा अझै ललितकला क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रतिष्ठान भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत साधनका बीच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, मन्त्री पाण्डेले भन्नुभयो । उहाँले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको बताउनुभयो ।
मन्त्री पाण्डेलाई असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले बेहोरेको क्षतिबारेको प्रतिवेदन बुझाइएको थियो । उहाँले प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गर्ने जानकारी गराउनुभयो । प्रतिष्ठानका कुलपति नारददणि हार्तम्छालीले प्रतिष्ठान र मन्त्रालयका बीचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनिभूत बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आव २०८०-०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीबारे जानकारी गराउनुहुँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक-एक वटा कला ‘हब’ बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिएको र अन्य प्रदेशमा छलफल चलिरहेको जानकारी गराउनुभयो । ‘आव २०८०-०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायत हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी गरेको थियो’, उहाँले भन्नुभयो ।
सदस्य सचिव काफ्लेले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको ललितकला क्षेत्रका विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । छलफलमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगङ्गा दर्शनधारी, सञ्जय वान्तवा राई, अरुणा हिङ्माङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पङ्कज अधिकारीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय २१:२४ बजे





















