1100×100 Nabil Advert

चाडपर्वमा नेपालकै अर्गानिक स्याउको कोशेली लाने प्रचलन बढ्यो

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दशैं-तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गर्नुभएका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दशैंमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताउनुभयो ।

‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दशैं-तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ’, उहाँले भन्नुभयो, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।’ नेपालगन्ज उपमहानगरपालिका-१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दशैंमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताउनुभयो । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दशैंको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उहाँको भनाइ छ ।

नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री-वितरण गर्दै आउनुभएको छ । जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आउनुभएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताउनुभयो । अन्य बेलाभन्दा दशैं-तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उहाँको भनाइ छ ।

नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताउनुभयो । उहाँले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताउनुभयो । यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गर्नुभयो ।

कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ । भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० र चीनको स्याउ प्रतिकिलो एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि यो वर्षको दशैं-तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो ।

उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताउनुभयो ।

प्रकाशित समय १२:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु