विकासको ‘भ्यु टावर’ कि ‘भरत थापा मोडल’ अपनाउने ?
भिजन, मिसन अनि देशप्रेम भए जनप्रतिनिधिहरुले जत्ति पनि राम्रो काम गर्न सक्छन् भन्ने एउटा उदाहरण हुन् सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा । भरत थापामात्र होइन्, उनी जस्तै जनस्तरमा सिर्जनशील र देखिने गरी काम गर्ने अरु पनि छन् । जो धेरै चाँही छैनन् । राम्रो काम गरेकै कारण भरत थापा पछिल्लो स्थानीय तह निर्वाचनमा दोहोरिए । त्यसरी दोहोरिन उनले जनतासमक्ष भोट माग्न परेन, लोकप्रिय मतसहित जनताले नै उनलाई जिताए ।
मेयरको रुपमा उनको कामको प्रशंसा गरिरहँदा उनीमाथि हालै भ्रष्टाचारको आरोपमा अख्तियारले अदालतमा हालेको मुद्दा छिपेको छैन । तर राजनीतिक आग्रह-पूर्वाग्रहमा बाँडिएको देशमा अख्तियारमा मुद्दा हाल्दैमा कोही दोषी भइहाल्ने पनि होइन । किनकि प्रमाणित गर्ने निकाय अदालत हो । अदालतले प्रमाणित गरे पक्कै उनले सजाय पाउलान् । त्यो बेग्लै विषय हो । त्यस्तै आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयर सहित दर्जनभन्दा बढीले अदालतमा भ्रष्टाचार मुद्दा परेपछि अदालतबाटै सफाइ पनि पाएका छन् । तर यहाँ उठाउन खोजिएको विषय थापाले मेयरको रुपमा गरेका नविनतम कामको हो । जसले त्यहाँका जन-जनमा सकारात्मक ऊर्जा दिएको छ । निराशाहरु आशामा परिणत भएका छन् । बेरोजगारहरुले रोजगारी पाएका छन् । उद्यम गर्न चाहनेहरुले अवसर देखेका छन् । समग्र नगरको पर्यटन आर्कषणका कारण आम्दानी बढेको देखिन्छ । त्यसमाथि ठाउँकै इज्जत, प्रतिष्ठा र आर्कषण बढेको छ । मेयरको रुपमा थापाले अघिल्लो कार्यकालदेखि नै प्रशंसनीय काम गरेका थिए । उनले गरेको कार्यले देश–विदेश सबैतिर चर्चा समेत पाएको छ ।

कुनै समय (०५० सालमा) बागमतीमा आएको बाढीले सर्लाहीको बागमति नगरपालिका आसपास तहसनहस नै पारेको थियो । बाढीले नदी आसपासका जग्गा-जमिन बगाएर बालुवाको उजाड बगर बनाएको थियो । बस्तीहरु बगेका थिए । बाढीपछि धेरैले जग्गा-जमिन बेचेर बसाइँसराई पनि गरेको स्थानीय सुनाउँछन् । बाढीले खोला वरीपरीको धेरैजसो जमिन बगरमा परिणत भएपछि धेरैको खुशी लुटिएको थियो । तर यसबीच खोला किनारलाई व्यवस्थित तटबन्धन गरिएको छ । बगरमा परिणत भएको उजाड भूमिमध्ये (१२१ विघा जग्गा) मा भव्य ताल बनाइएको छ । सो ताल अवलोकन गर्दा जो कसैले फेवा ताल बिर्सन्छन् । ताल निकै नै विशाल र सुन्दर देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘नेपाल सुन्दर, शान्त र विशाल छ’ भनेर कल्पेका थिए । वास्तवमै महाकविका सुन्दर भाव र उच्च चेतना मेयर थापामा पनि रहेको ताल नियाल्दा महसुस हुन्छ । ताल पुगेपछि जो–कसैले मेयर थापाको तारिफ नगरी बस्नै सक्दैनन् ।
तालको नाम स्थानीयले नै मेयरको कामलाई सम्मान गर्दै ‘भरत ताल’ राखिदिएको संकथन छन् । ‘भरत ताल’ बनाइनु अघि त्यस ठाउँ झाडी–जङ्गल र बगर थिए रे । तस्करहरुले रुख काटेर बेच्ने धन्दाहरु चल्थे रे । जब भरत थापा मेयरको रुपमा उदाए, त्यसपछि उनले लाखौं पर्यटकहरु भित्राउने, माछा पालन गरेर मनग्य आम्दानी गर्ने, पिकनिक स्पटहरु बनाउने, रमणीय उद्यमहरु बनाउने योजनाहरु बुने । महत्वाकांक्षी लक्ष्यसहित ताल बनाउने निर्णय गरे । उनले त्यो काम आफ्नो पहिलो कार्यकालमै लगभग पूरा गरेका थिए । अहिले देशका विभिन्न ठाउँहरुबाट मात्र नभएर भारत लगायत अन्य देशहरुबाट समेत ताल हेर्न पर्यटकहरु आउन थालेको स्थानीय सुनाउँछन् । १२१ विघा जग्गामा निर्मित सो ताल तराई मधेशकै सबैभन्दा ठूलो ताल भएको बताइन्छ ।
सो ताल बनेसँगै सर्लाहीको बागमती नगरपालिकाको मात्रै नभएर जिल्लाकै आर्कषण बढेको स्थानीयको बुझाई छ । बसाइँ सरेर गएकाहरु पनि फर्कन थालेका र जग्गा जमिनको भाउसमेत बढ्दै गएको स्थानीय अटो चालक केदार माझी बताउँछन् । तालले स्थानीय स्तरमा घनिभूत रुपमा रोजगारी सिर्जना गर्दै लगेको अर्का स्थानीय राम माझी बताउँछन् । पर्यटकीय हिसाबका रोजगारीहरु सिर्जना भएका देखिन्छन् । ताल वरपर ३०-४० ओटा होटलहरु खुलिसकेका छन् । हाल २५ वटा ‘वोट’ तालमा सञ्चालित छन् । ३ सय रुपैयाँमा ‘वोट’ चढ्ने सुविधाले उनीहरुको आम्दानी उकासिएको छ । स्थानीय अटो चालकहरुले काम पाएका छन् । तालमा माछापालन समेत गरिएकोले नगरपाललिकाको आम्दानी बढ्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मूल सडकबाट ताल जाने बाटो र तालको वरीपरी पुरै पिच गरिएको छ । सरसर्ती हेर्दा ‘भरत ताल’ लाई एउटा नमूना पर्यटकीय योजनाको रुपमा लिन सकिन्छ । सो ताल र ताल नजिकै नगरपालिकाले नै बनाएको ‘फन पार्क’ पर्यटकीय हिसाबले अझ उत्कृष्ठ छ । कृत्रिम रुपमै ४-५ वर्षमै खडा गरिएको ‘भरत ताल’ र बागमती नदी किनारैमा ५ बिघा सरकारी जग्गामा बनाइएको ‘फन पार्क’ देशकै योजनाविद्हरुलाई चक्मा दिने खालका छन् । विकासका योजना बनाउनेहरुले त्यसलाई एकचोटी अवलोकन गरेकै राम्रो हुनसक्छ ।
भन्नेहरुले शुरुमा विकास बजेट जथाभावी खर्च गर्यो पनि भने होलान् । केही गर्न चाहनेको खुट्टा तान्ने र भाँजो हाल्ने त नेपालीहरुको संस्कारै भइसकेको छ । त्यसमाथि विकासका गतिविधिहरु माथि पनि अति राजनीतिकरण गरिने परिपाटी, आफ्नोले गरेको ठीक तर अरुले गरेको बेठीक देख्ने स्वार्थी जञ्जालहरुले समाजलाई अधोगतितिर धकेलिरहेको छ । त्यसकारण अप्ठेराहरु त पक्कै झेले होलान् मेयर थापाले । तर उनको काम नियाल्दा स्यालुट गर्न मन लाग्छ । निर्माणमा १ अर्ब बढी खर्च भइसकेको ‘भरत ताल’ बहुउद्देश्यीय योजनाको रुपमा अघि बढाइएको मेयर थापाले बताउँदै आएका छन् ।
जसले त्यस ठाउँको ठूलो सम्भावना उजागर गरेको छ । बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जंगल सफारी, शिव-पार्वतीको मन्दिरसहित सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटलहरु निर्माण भइरहेको बताइन्छ । वार्षिक ६० लाख पर्यटक आर्कषण गर्नेगरी संरचना निर्माण गरिएको बताइएको छ । अहिले नै तालमा ५-६ सय जनाले रोजगारी पाएका पनि छन् । तालले पर्यटकीयरुपमा मधेशको मात्रै नभएर पूरै देशको र अन्तर्राष्ट्रको समेत ध्यान खिचेको देखिन्छ । ताल सामाजिक सञ्जालहरुमा भाइरल समेत हुँदै आएको छ ।
तालले वर्षेनि ठूलो संख्यामा पर्यटक भित्र्याएर आम्दानी गर्ने अवसरको सिर्जना गरेको छ । उजाड जमिन र खेर गइरहेको खोलाको पानीको सदुपयोग भएको देखिन्छ । ताल बनेसँगै आसपासमा सिंचाई सुविधा पुग्ने देखिन्छ, त्यसले पर्यावरण संरक्षणमा पनि टेवा पुग्न सक्ला । वृक्षारोपणका कामहरु पनि भएका देखिन्छन् । ताल आसपासमा ३० ओटा पिकनिक स्पट, चौतारा र प्रतिक्षालयहरु समेत बनिरहेका देखिन्छन् । पर्यटनको सो महत्वाकांक्षी योजनाले अझै पूर्णता त पाइसकेको छैन । पूर्णता पाएसँगै त्यसले सबैको ध्यान खिच्ने सहजै अनुमान लगाउन सकिन्छ । तालका कारण ६ किलोमिटर दुरीमा अवस्थित रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमति-११ मा पर्ने हरिहर क्षेत्रमा घुम्न आउने पर्यटहरु घुइँचो लाग्न थालिसकेको स्थानीय सुनाउँछन् ।
मधेशको उग्र गर्मीबीच स्थानीयले शितल खोज्न अन्त टाढा जानु परेको छैन । साथै मधेशको सौन्दर्य जिवित राख्न तालले ठूलो भूमिका खेलेको देखिन्छ । नगरपालिकाले भरत ताललाई स्वच्छ, सफा तथा हरियाली एवं फुलवारीमय बनाउनुपर्ने आवश्यकता पनि छ । सफा र सुन्दर पनि हुनसक्यो भने सो ताल राम्रो पर्यटकीय हब बन्न सक्छ । खोलाको बगर रहेको, उपयोगमा नआएको सरकारी जग्गालाई हिन्दुस्तानमा बगी जाने खोलाको पानी हालेर भव्य ताल बनाइनु र पर्यटकीय हिसाबले हिरा बनाउनु आफंैमा एउटा बेजोड काम हो ।
वास्तवमा विकासको ‘भरत थापा मोडल’ नेपालको हकमा सबै ठाउँमा आवश्यक देखिन्छ । तर यहाँ त वहुआयामिक सम्भावनाहरु कोरल्ने विकासको ‘भरत थापा मोडल’ होइन, राज्यको अरबौं राजस्व स्वाहा बनाउने ‘भ्यु टावर मोडल’ को अनुशरण ज्यादा छ । झापाको दमकमा बनेको ३ अर्ब लगानीको ‘भ्यु टावर’ होस् वा देशका हरेकजसो स्थानीय तहमा बनेका होचा-अग्ला ‘भ्यु टावर’हरु हुन् । त्यसले उपलब्धी दिने केही हैन । किनकि नेपालमा भ्यु टावरहरु भन्दा अग्ला पहाड छन्, हिमाल छन् । त्यसकारण भ्यु टावरहरुमा हुने लगानी करिब वालुवामा पानी हालेसरह नै हो । हामीलाई चाहिने मेयर भरत थापा मोडल हो । जसले अनगिन्ती रोजगारी, आयआर्जन, आकर्षणहरु सिर्जना गरोस् । युवाहरुलाई देशमै केही गर्न प्रोत्साहन गरोस् ।
भरत थापाले जस्तै हरेक जनप्रतिनिधिहरुले आफ्ना आफ्ना क्षेत्रमा भएका सम्भावनाहरुलाई एक–एक गरी चिन्न सक्नुपर्छ । र, त्यसको अठोटका साथ कार्यान्वयन गर्न जरुरी छ । चाहँदा गर्न सकिन्छ भन्ने उदाहरण भरतले दिएका हुन् । विकास भनेको कछुवा गतिमा होइन, खरायो दौडमा हुन जरुरी हुन्छ । जनताले आफ्नै जीवनकालमा सुविधा सम्पन्न विकास देख्न र अनुभूत गर्न पाउनुपर्छ । यसर्थ हरेक जनप्रतिनिधिहरुले बागमतीका मेयरबाट सिक्न सकून् । राजनीति वास्तवमा अरुका लागि, जनताका लागि गरिनु पर्छ । नेताले आफ्नै लागि राजनीति गर्ने होइन । राजनीति विकास र सम्बृद्धि ल्याउने कुरासँग जोडिनु पर्छ । राजनीति भनेको उच्चस्तरको समाजसेवा हो । जसले समाज र राष्ट्रका लागि दिन सक्दछ वा जान्दछ, उसको हो जिवन्त राजनीति । मेयर थापा कुशल राजनीतिज्ञ हुन् असल समाजसेवक हुन् । अरुहरुले उनीबाट सिक्न जरुरी छ ।
उनको नगरपालिकाभित्र सबैजसो ठाउँमा कालोपत्रे भइसकेका देखिन्छन् । सरकारी विद्यालयहरुको गुणस्तर बढाएर विद्यार्थीको भीड लाग्ने बनाएका बताइन्छ । स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै काम गरेको सुनिन्छ । अन्यत्र जता जाँदा पनि आफ्ना जनप्रतिनिधिहरुले काम नगरेका गुनासाहरु सुन्न पाइथ्यो । तर बागमति नगरपालिका र उनले विकास गरेको पर्यटन गन्तव्य नियाल्दा सबैले मेयरको प्रशंसा गान गाएको पाइयो । अनौठो लाग्यो, मेयर हुन् त भरत थापा जस्ता ।
– गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।
प्रकाशित समय २२:१९ बजे





















