V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

भेट्रान शुभकामना दौड : धर्म र कल्पना भए पहिलो

काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । आयोजित प्रतियोगितामा धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लण्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेण्डमा पूरा गरे । भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो भए । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्त आयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेण्डमा तय गरिन् । याङदकी लामा शेर्पा दोश्रो तथा सिता रिमाल तेश्रो स्थानमा रहे ।

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२ औं संस्करणको सांगीतिक प्रस्तुति यो वर्षको अगष्टमा इङल्याण्डको लण्डनमा हुँदै छ । १० औं अमेरिकामा भएको थियो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफैं पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातबाट शुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।

विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल संघकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए । सो अवसरमा तीन पटककी एभरेष्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावकद्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

 

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010