कृषि मन्त्रीको आक्रोश योजना आयोगमाथि

काठमाडौं । असारे चटारोले किसानलाई छोपेको छ । मानो रोपेर मुरी उब्जाउने यो असार महिना देशभरका किसानका लागि विशेष हुने गर्दछ । कुनै समय नेपाल आफ्नै धान उत्पादनमा रमाउने र निर्यात पनि गर्ने अवस्थामा थियो । तर अहिले त्यो अवस्था नहुँदा आयातमा रमाउँदै खेतबारी बाँझो छाड्ने अवस्थामा पुगेको छ ।
असार पन्ध्र अर्थात धान दिवस । असार पन्ध्रमा किसानलाई विशेष चटारो हुनेगर्छ । तर धान दिवस मनाउन थालेदेखि सरकार र उस्का मन्त्रीहरु यस दिन व्यस्त हुन थालेका छन् । आइतबार नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा आयोजित धान दिवस र धान रोपाई कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुषालले राष्ट्रिय योजना आयोगको कारण कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको गुनासो पोखे ।
उनले भने ‘कृषि मन्त्रालयलाई आवश्यकता कति छ भन्ने नबुझी योजना आयोगले बजेटको सिलिङ तोक्छ, यही गल्तीका कारण कृषिमा यसपटक बजेट कम आयो, जति आयो त्यतिमा नै चित्त बुझाउनुपर्ने अवस्था छ ।’ मन्त्री भुषालले पहिला धान खेति गरिदै आएको १० लाख ३० हजार हेक्टर जग्गा अहिले बाँझो छाडिएको उल्लेख गर्दै विभिन्न कारणले खेती हुन छाडेको बताए । उनले पुनः बाँझो छाडिएको जमिनमा र अन्य कारणमा ध्यान दिने हो भने नेपाल पुनः धान निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।
उनले भने ‘१० लाख ३० हजार हेक्टर जमिन बाँझो छाडिएको छ, पर्याप्त सेवा सुविधा छैन, जनताको जीवन शैलीमा आएको परिवर्तनका कारण पनि खेतिपाती घटेको छ, जनता शहरमुखी भएका छन्, पहाडबाट बसाई–सराई गर्ने प्रवृति बढेको छ, अर्कोतर्फ जंगली जनावरले दिएको दुःखको कारण पनि खेतिपाती घटेको छ । उत्पादन हुने जमिन बाँझो भएकाले देशमा उत्पादन घट्यो, युवाहरुको वैदेशिक रोजगारीमा जाने र यहाँ पर्याप्त सेवा सुविधा पु¥याउन नसक्नु पनि हो, यदि बाँझो छाडिएको जमिनमा पुनः खेती गरिए नेपाललाई पुग्ने उत्पादन भएर निर्यात पनि गर्न सक्छौं ।’
मलको वितरण बदमासी भएको स्वीकार गर्दै मन्त्री भुषालले बदमासी गर्नेलाई कारवाही गर्न सरकार पछि नपर्ने बताए । उनले भने ‘मलको वितरणमा बद्मासी भएको छ । जहाँ बदमासी भएको छ, त्यहाँ समात्न नै भनेर अनुरोध गरेको छु । सूचना आएको ठाउँमा कारवाही पनि शुरु भइसकेको छ । मलको आपूर्ति भएको छ हुँदै पनि छ । मल पाइएन भनेर प्रचार गर्नु पर्दैन, जहाँ हुनुपर्ने हो त्यहाँ गएर हेरे हुन्छ । बिउको पनि समस्या छैन ।’ मन्त्री भुषालले धानको उत्पादन कसरी थप्ने भन्ने कुरामा जोड दिनुपर्ने बताए । राष्ट्रिय उत्पादनमा वृद्धि गर्ने र आत्मनिर्भर अर्थतन्त्रलाई अगाडि बढाउने हो भने धानको उत्पादन बढाएर नै लानुपर्ने उनको जोड थियो ।
प्रकाशित समय १६:२१ बजे