हरेक व्यक्ति उत्पादनमा लाग्नुपर्छ : अध्यक्ष गोल्याण
एनएमबि बैंक परम्पराभन्दा भिन्नरुपमा जान खोजेको छ : सिइओ केसी

काठमाडौं । एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याणले हरेक व्यक्ति उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । उनले सरकारले केही गरेन भनेर सरकारको मात्र मुख ताक्न नहुने बताउँदै मुलुकमा उत्पादन र त्यसको बजारीकरणमा एनएमबि बैंकले भूमिका खेल्ने बताए । एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरपश्चात बोल्दै अध्यक्ष गोल्याणले सो कुरा बताएका हुन् ।
अध्यक्ष गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य–मान्यतामा आधारित बैंकिङ र दीगो बैंकिङको सिद्धान्तमा उभिएको बताउँदै नेपाल सरकारको समृद्घ नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित हुने बताए । अध्यक्ष गोल्याणले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताउँदै हरेक व्यक्ति उत्पादनमा लाग्नुपर्ने बताए ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धिपुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले परम्परागत बैकिङ्गभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिंदै आएको जानकारी दिए । यही प्रयासको निरन्तरता स्वरुप यी संगठनबीच समझदारी भएको केसीले बताए ।
प्रकाशित समय १८:४७ बजे