भदौ ९ देखि नाडा अटो शो भृकुटीमण्डपमा हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औँ वर्षलाई विशेष बनाउँदै १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा नेपाली उत्पादन, अत्याधुनिक सवारी प्रविधि तथा रोबोट मुख्य आकर्षणका रूपमा रहने भएका छन् । नाडाले पत्रकार सम्मेलनमार्फत अटो शोको तयारी, सहभागी ब्रान्ड तथा प्रदर्शनीका प्रमुख आकर्षणबारे जानकारी दिइएको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रासँगै नेपालको अटोमोबाइल क्षेत्र आर्थिक तथा औद्योगिक विकासको महत्वपूर्ण हिस्सा बनेको बताए। उनका अनुसार यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ ।
नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइँदैछ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् ।
अटो शोमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेइकल (पीसीभी), १७ वटा लाइट कमर्सियल भेइकल (एलसीभी), १३ वटा दुईपांग्रे ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवा प्रदायकका स्टल रहनेछन् । प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारी साधनका साथै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत स्वदेशी उत्पादनसमेत प्रदर्शन गरिनेछ ।
यस वर्ष नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिने नाडाले जनाएको छ । अटो शोको अर्को प्रमुख आकर्षण अत्याधुनिक रोबोट हुनेछन्। प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रपेड रोबोट प्रदर्शन गरिनेछ ।
यसका साथै विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिनुका साथै स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियमसमेत आयोजना गरिनेछ। नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि पनि विशेष बन्ने अपेक्षा गरिएको छ।
स वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले खल्ती एपमार्फत अग्रिम टिकट बुक गर्न सक्नेछन्। निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा मोबिलिटी पार्टनर याङ्गो, फायर सेफ्टी पार्टनर हिट्कोलगायत विभिन्न प्रायोजकसमेत रहेका छन् ।
नाडा अटो शोको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स, को-स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स कम्पनी, बेभरेज पार्टनर क्याम्पा, चार्जिङ पार्टनर जीआई चार्जर, हस्पिटालिटी पार्टनर द प्लाजा र टिकटिङ पार्टनर खल्ती बाई आईएमई रहेका छन् । कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ । यसपटकको नाडा अटो शो देशभित्रका उत्पादकहरुका लागि विशेष महत्वपूर्ण हुने आयोजकले अपेक्षा राखेका छन् ।
प्रकाशित समय ०७:१८ बजे


















