1100×100-Naima

नाइमा मोबिलिटी एक्स्पो एक लाख ८० हजारको अवलोकनसँगै सकियो

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको मेलाको समापनका दिन ३० हजारभन्दा बढीले अवलोकन गरे । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।

 

समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन् । ‘यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ‘एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो ।’

 

एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि सबैभन्दा ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन् । ‘यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ‘आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।’
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ‘नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ‘अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’

 

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’ त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ‘नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।

 

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए । ‘अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,’ उनले भने । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

 

मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको थियो भने रेडबुल पावर्डबाईका रुपमा रहेको थियो । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका थिए । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका थिए ।

 

त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका थिए ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु