जीवनले गरे व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
भोजपुर । यहाँको षडानन्द नगरपालिका-१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ । काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उहाँले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । उहाँले करिब रु दुई करोड ५० लाख लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताउनुभयो ।
योजनाबद्ध रूपमा विविध बालीको संयोजन गर्दै उहाँले सात हजार बोट कफी, दुई हजार मेकाडेमिया नट, २५० बोट एभोकार्डो, ३०० बोट कागती, ५० बोट जापानिज उन्सु सुन्तला तथा १०० बोट टिमुर रोप्नुभएको छ । यी बालीहरूबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उहाँले खेती विस्तार गरेको बताउनुभयो ।
‘गाउँमै धेरै सम्भावना रहेछ । त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ भन्ने लाग्यो’, उहाँले भन्नुभयो, ‘सुरुआतमा चुनौती धेरै भए पनि विस्तारै अनुभवसँगै काम अघि बढाउन सहज हुँदै गएको छ ।’ कृषि उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउन उहाँले आफ्नै लगानीमा करिब रु १५ लाख खर्चेर चिस्यान केन्द्र निर्माण गर्नुभएको छ । यसले उत्पादन भण्डारण र गुणस्तर जोगाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भनेर ढुवानीका लागि सवारी साधनको व्यवस्था पनि गर्नुभएको छ । उहाँको फार्ममा हाल तीन जना कर्मचारीले नियमित रोजगारी पाइरहेका छन्, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामासमेत योगदान पुगेको देखिन्छ ।
उहाँले उत्पादन गर्नुभएको कफी अहिले अन्तरराष्ट्रिय बजारसम्म पुग्न थालेको छ । यस वर्ष मात्रै उहाँले करिब एक हजार केजी कफी जापान निर्यात गर्नुभएको छ, जसको मूल्य प्रतिकेजी १२ डलर रहेको छ । ‘विदेशी बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘तर उत्पादनले बजारको माग धान्न अझै कठिन भइरहेको छ ।’
स्थानीय बजारमा भने उहाँले प्रशोधित कफी प्रतिकेजी करिब रु तीन हजारमा बिक्री गर्दै आउनुभएको छ । कफीको माग निरन्तर बढिरहेको भए पनि उत्पादन विस्तार गर्न थप लगानी, प्राविधिक सहयोग र दक्ष जनशक्ति आवश्यक रहेको उहाँले अनुभव सुनाउनुभयो । कृषि क्षेत्रमा सरकारी निकायबाट प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सहजीकरण आवश्यक रहेको उहाँको भनाइ छ ।
हाल उहाँको फार्मबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । आगामी केही वर्षभित्र सबै बोटहरूले पूर्णरूपमा उत्पादन दिन थालेपछि वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । ‘अहिले लगानीको चरणमा छु’, उहाँले भन्नुभयो, ‘केही वर्षपछि राम्रो प्रतिफल आउने अपेक्षा राखेको छु ।’
काठमाडौँमा आफ्नै घर हुँदाहुँदै गाउँ फर्किएर कृषिमा लाग्ने निर्णयबारे उहाँले आत्मनिर्भरता र गाउँमै अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताउनुभयो । ‘युवाहरू विदेश जाने क्रम बढ्दो छ’, उहाँले भन्नुभयो, ‘तर गाउँमै पनि राम्रो सम्भावना छ भन्ने देखाउन चाहेको हुँ ।’ उहाँको पहलले स्थानीयस्तरमै रोजगारी सृजना गर्नुका साथै आधुनिक कृषि प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धि गर्न प्रेरणा दिएको स्थानीयवासीले बताएका छन् । कृषिमा व्यावसायिक सोच र दीर्घकालीन योजना आवश्यक हुने सन्देश उहाँको अभ्यासले दिएको छ ।
जीवन थापाको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई गाउँ फर्केर केही गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत बनेको छ । गाउँमै सम्भावना खोज्ने र त्यसलाई व्यवहारमा उतार्ने हो भने कृषिबाट पनि सम्मानजनक आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।
उहाँले अन्य किसानले उत्पादन गरेको कफी खरिदसमेत गर्दै आउनुभएको छ । किसानलाई कफीखेतीतर्फ आकर्षित गर्न आफूले जानेको ज्ञान र सीप बाँड्दै आएको उहाँले बताउनुभयो । किसानहरूले उत्पादन गरेको कफीलाई एकीकृतरूपमा सङ्कलन, भण्डारण र बिक्री गर्ने वातावरण बनेमा अझ सहज हुने उहाँको भनाइ छ । उमेरले ७१ वर्ष पुग्नुभएका थापा कृषिमा लगानी, लगनशीलता र दूरदृष्टिको उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ ।
प्रकाशित समय १०:३८ बजे



















