तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।
आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका-१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन्
आयोजनामार्फत् हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालनमा रहेको भण्डारीले उल्लेख गर्नुभयो । उपभोक्ता समितिहरुमार्फत् सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन गरिएको छ ।
ऋषिङ गाउँपालिका-७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, भिमाद नगरपालिका-५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका-७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, भिमाद नगरपालिका-५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे गाउँपालिका-५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य र ऋषिङ गाउँपालिका-१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्य जारी छन् ।
आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’
आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।
प्रकाशित समय ०८:४२ बजे






















