गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
रसुवा । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् ।
यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।
शिवको तपोभूमिः शास्त्रमा वर्णित गोसाइँकुण्ड : पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान् शिवले उक्त विष कण्ठमा धारण गर्नुभयो, जसकारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो ।
विषको ताप सहन नसकेपछि भगवान् शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् ।
धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ ।
काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ । यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ ।
धार्मिक सेवा र यात्रु व्यवस्थापन : बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान–बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताउनुभयो । यही जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य र सुरक्षित यात्रा सुझाव : लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् ।
अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।
प्रकृति संरक्षण पनि धर्मकै अङ्ग : यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभएको छ ।
आस्था, प्रकृति र अध्यात्मको सङ्गम : धार्मिक विद्वानहरूका अनुसार भगवान् शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गर्नुभएको स्मरणस्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।
कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुञ्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र अध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो ।
प्रकाशित समय ०८:०४ बजे





















