1100×100 Nabil Advert

सेनाको जागिरभन्दा भैंसी पाल्न भनेपछि पूर्णबहादुरको मन फेरियो

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि हुनुभएको थियो ।

 

‘हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए’, उहाँले भन्नुभयो, ‘हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ ।’

 

पण्डित र ज्योतिष पेसा गर्नुहुने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उहाँले स्मरण गर्नुभयो । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन ।

 

‘हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो’, पूर्णबहादुरले भन्नुभयो, ‘भैँसी, राँगा, पाडापाडी र घ्यू बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।’ विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गर्नुभएका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका-७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थाल्नुभएको छ ।

 

सुरुमा १३ वटा भैँसीलाई एक हजार ५०० रुपैयाँमा बिक्री गर्नुभएका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरू छन् । पछिल्लोपटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।

 

जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुरले सम्झनुभयो । हिउँ परेको अवस्थामा भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उहाँको भनाइ छ ।

 

वार्षिक दुई सय लिटरसम्म घ्यू बिक्री गर्नुभएका उहाँ असोज कात्तिकमा पोषिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ्ग पर्ने गर्नुहुन्थ्यो । एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सनुभएको छैन ।

 

गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गर्नुभएको थियो । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्याइदिन्थे । रेडियो र मोबाइल साथी हुन् । पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाउनुभयो ।

 

पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँ वरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुरको सुझाव छ । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सकेमा स्वरोजगारका साथै आत्मनिर्भर भइने उहाँको सुझाव छ ।

प्रकाशित समय ०८:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु