1100×100 Nabil Advert

विदेशी कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो : अध्यक्ष सिलवाल

ललितपुर । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गर्नुभयो ।

अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ, झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनुपर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन ।’

सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिब बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा कम्पनीहरू ऐन, नियम बमोजिम चल्नुपर्छ, जवाफदेही बन्नुपर्छ, ऐन, नियम विपरित जाने कम्पनीहरूले दण्ड सजायँ भोग्नुपर्छ ।’ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोल अनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले संचार माध्यममार्फत् बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

साथै, उहाँहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बिमितले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेतना अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संचार माध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गर्नुभएको थियो ।

प्रकाशित समय १७:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु