1100×100 Nabil Advert

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैंचा

खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिकरुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ-ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ-७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स-साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ । यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ-जायजुम अवस्थित छ । सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गैढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् ।

ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौं ‘

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ ।

रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित हुन थालेको छ । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली-खुर्कोट-घुर्मी-जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाबाट सिराहको मिर्चैया-उदयपुरको कटारी-घुर्मी-जयरामघाट तथा धरान-धनकुटा-भोजपुर-चखेवाभञ्ज्याङ-दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट-हलेसी सडकबाट रक गार्डेन पैदल २०-२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै-चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

रक गार्डेन सम्पन्न गर्न पाँच करोडभन्दा बढी लाग्ने गरी डिपिआर तयार भएको नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो । ‘रक गार्डेन निर्माणमा अहिलेसम्म करिब तीन करोड खर्च भइसकेको छ । निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौ’, उहाँले भन्नुभयो, ‘अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ । सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।’

तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिए हो । नगरपालिकाभित्र पर्ने सबै पर्यटकीयस्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नगरपालिकाभित्र विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ-जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थल छन् । ती सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘नगरपालिका धार्मिक तथा पर्यटकीयस्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीयस्थलको परिचय, महत्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन् । यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीयस्थलका बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’ नगरपालिकाले सुरु गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।

प्रकाशित समय ०९:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु