तनहुँका ९२ दशमलव आठ प्रतिशत जनसंख्यामा स्वच्छ खानेपानीको सुविधा
तनहुँ । जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उहाँले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिनुभयो ।
उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाका लागि दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो ।
कार्यालयले कार्यान्वयन गर्ने योजना संख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताउनुभयो । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् । उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे-७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका-२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका-६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका-११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताउनुभयो ।
प्रकाशित समय ०९:१७ बजे





















